Rainfall, strong parnus mind, I am coming to understand her brother's body '
4:05 AMदुई
महिनाअघि साउदी अरबको अस्पतालको बेडबाट बलराम सुनुवारले मलेसियामा रहेका
भाइ टीकारामलाई फोनमा भनेका थिए, ‘भाइ, अब तँसँग बोल्न पाउँदिनँ होला ।
बाँचे भने फर्केर आउनेछु । भाउजू र छोराछोरीको ख्याल गरेस् । जे भने पनि अब
तँ नै होस् ।’
त्यसरी भाइलाई सम्झाएको दुई महिना पनि नपुग्दै बुधबार राति साउदी अरबको अल
जिदानी अस्पतालमा ३१ वर्षीय बलरामको मृत्यु भयो । रोजगारीका लागि उनी १९
महिनाअघि साउदी अरब पुगेका थिए । उनका भाइ टीकाराम दुई वर्षअघि मलेसिया
आएका थिए ।
दाजु अस्पतालमा पुगेपछि घर चलाउन गाह्रो भयो । घर सम्हाल्नको लागि भन्दै
नेपाल फर्कने तयारी गर्दागर्दै दाजुको मृत्युको खबर टीकारामले
क्वालालम्पुरमा सुने । त्यसयता उनी भावविह्वल भएर भौंतारिरहेका छन् ।
‘मेरो अभिभावक भनेको त्यही दाजु थियो, त्यो पनि बित्यो । आमालाई मैलै
चिन्नै पाइनँ । बुबा पनि परार साल बित्नुभो । दाजुलाई पनि गुमाएँ । कति
अभागी रै’छु म !,’ उनी आफ्नो भाग्यलाई धिक्कार्दै छन् यतिबेला ।
रामेछाप जिल्लाको नामडी गाविस वडा नम्बर ६ मुखिया टोल अहिले शोकमा
डुबेको छ । साउदीमा बितेका बलरामकी श्रीमती अचेत अवस्थामा छिन् भने तीन
वर्षको छोरा र एक वर्षीया छोरीलाई सम्हाल्ने समेत कोही छैन । भाइ टीकारामको
श्रीमती पाँच वर्षे छोरा लिएर काठमाडौंमा डेरामा बस्दै आएकी छिन् ।
टीकारामले फोनबाट श्रीमतीलाई छिटो घर गएर भाउजूलाई सम्झाउन र छोराछोरीको
ख्याल गर्न भनिरहेका छन् ।
राम्रो कमाइ भएका कारण बलराम दोस्रो पटक साउदी अरब पुगेका थिए । पछिल्लो
कम्पनीमा जाँदा पनि राम्रो कमाइ थियो । तर, अचानक उनमा रोग देखा पर्यो ।
स्वास्थ्य बिग्रिएपछि कम्पनीका मालिकले अस्पतालमा भर्ना गरिदिए । उपचार पनि
राम्रै गराए । उनलाई ब्रेन ट्युमर भएको रहेछ । पछिल्लो पटक आईसीयुमा राखेर
उपचार गराउँदा-गराउँदै उनको मृत्यु भयो ।
यतिबेला दाजुको खोजीमा टीकाराम जुटिरहेका छन् । साउदी अरब र नेपालमा रहेका
आफन्तहरुलाई उनी क्वालालम्पुरबाट बारम्बार सम्झाइरहेका छन्, ‘दाजुको शव
बुझ्न म आउँछु, कसैले पनि चिन्ता नलिनू ।’
२७ वर्षीय टीकाराम आफूलाई निकै अभागी ठान्छन् । कमाएर केही गरौं भनेर
परदेश पसेका उनी दाजुको शव काठमाडौंमा बुझेर रामेछाप जाँदै छन् ।
उनी प्रश्न गर्छन्, ‘गरिबलाई दशाले किन यति साह्रो पछ्याउँछ हँ ?’
0 comments