Cricket Sandeep commercial flight

2:04 AM

क्रिकेट खेल्नु नेपाली खेलाडीका लागि एउटा ठूलै चुनौती र अवसर हो।

अष्ट्रेलियबाट क्रिकेट खेल्न केही तलक लिगहरुमा नेपाली खेलाडी आउने गरेपनि सिड्नीको प्रियिमर डिभिजन क्रिकेट खेल्नु नेपाली खेलाडीका लागि एउटा ठूलो अवसर हो। यस्तै लिगबाट नेपाली १६ वर्षे युवाको अपत्यारीलो उदय भएको छ।
१६ वर्षे नेपाली युवा क्रिकेटर सन्दिप लामिछाने पहिलो पटक सिड्नीको प्रिमियर डिभिजन क्रिकेटमा खेल्दैछन्।
अस्ट्रेलियाका पूर्व राष्ट्रिय कप्तान माइकल क्लार्कसँग हङकङमा एकै मैदानमा हात जुधाउँदै किफायती बलिङ गरेका थिए। त्यसमा विकेटसमेत लिएका लामिछानेका लागि नयाँ गोरेटो अष्ट्रेलियाको लिगमा तय भयो।
यो संयोगले नेपाली क्रिकेटका लागि एउटा फरक र विशेष दिन पनि रह्यो। एउटा नेपाली ठिटोले अस्ट्रेलियामा ब्यवसायीक क्रिकेटमा उडान भर्दैगर्दा त्यसको प्रत्यक्ष असर नेपाली क्रिकेटमा पनि झल्किनु स्वभाविक हो।
यसअघि सुनाम गौतम र यशवन्त सुबेदीले अस्ट्रेलियामा तल्लो डिभिजन लिगमा आफूलाई उभ्याएका थिए। यशवन्तले छाडे पनि सुनाम भने अहिले पनि मेलवर्नमा क्रिकेटमै लागिपरेका छन्।
हुन त आपसी झगडाको मारमा अल्झिएको नेपाली क्रिकेटमा थुप्रै प्रतिभा नभएका होइनन्। उनीहरूलाई होस्टेमा हैसै गर्ने र ब्यवसायीकताको कसीमा उतार्न नसक्ने पदाधिकारीका कारण थुप्रै नेपाली क्रिकेटर देशको सीमानाबाट बाहिर जान सकेनन्। कठीन परिस्थितिका बाबजुद पनि खेलाडीले आफ्नै मिहेनत र पसिनाले अस्ट्रेलियन क्रिकेटमा उडान भर्नु सानो कुरो होइन।
लेग ब्रेक बलरका रुपमा सन्दिपलाई माइकल क्लार्कले रुचाएपछि सन्दिप यतिखेर अस्ट्रेलियन प्रीमियम लिगमा खेलिरहेका हुन्।
माइकल क्लार्कको क्लबका रुपमा परिचित एक सय २१ वर्ष पुरानो वेस्टर्न सर्वब क्रिकेट क्लबवाट नेपाली क्रिकेट खेलाडीले खेल्न पाउनु नेपालमा मात्र होइन अस्ट्रेलियामा पनि निकै चर्चाको विषय बनेको छ।
यहाँका टेलिभिजनहरुले पनि सन्दिपको सिड्नी उडानलाई निकै महत्वको विषय बनाएका छन्। एउटा सानो हिमालय मुलुकको ठिटोले सिड्नीको प्रीमियर लिग खेलिरहँदा यहाँका टेलिभिजन र सन्चारमाध्यमका लागि नयाँ र नौलो बन्न पुगेको छ। माइकल क्लार्कको अस्ट्रेलियन क्लब क्रिकेटमा पुर्नआगमनको समाचारसँगै यहाँ सन्दिपको उदयको पनि समाचार महत्वका साथ प्रशारण गरिएको थियो।
सन्दिपले यस अवधिमा माइकल क्लार्कको एकेडेमीमा प्रशिक्षण पनि लिने छन्। जसबाट उनको खेलमा थप निखार आउने बिश्वास गरिएको छ। त्यति मात्र होइन, विश्वबिख्यात स्पीनर शेन वार्नसँग उनले बिशेष प्रशिक्षण लिने पनि बन्दोबस्त मिलाइएको छ।
युवा क्रिकेटर सन्दिप लामिछाने पहिलो पटक सिड्नीको प्रीमियर डिभिजन क्रिकेटमा कीफायती बलीड गर्दै एक वीकेट हात पारेका छन्। सीड्नीको एलन बोर्डर ओभलमा मोसमनविरुद्ध उनको टोली वेस्टर्न सर्वब क्रिकेट क्लबले ६ वीकेटको सहज जीत हात पारेको छ।
सन्दीपले पहिलो खेलना आठ ओभर बलिङ गर्दै २७ रन खर्चेर एक विकेट हात पारेका थिए। पहिलो ब्याटिङ गरेको ब्रेट लीको टीम मोसमनले ४६.४ ओभरमा सबै विकेट गुमाउँदा १ सय ४१ रन जोडेको थियो।
वेस्टर्नले क्लार्कको अविजित ९९ रनसहीत ३८ ओभरमा चार वीकेटको नोक्सानीमा लक्ष्य हात पारेको थियो।
सन्दिपको ब्यवसायिक क्रिकेटमा माइकल क्लार्क भिष्मपीतामह हुन्। उनकै ब्यक्तिगत प्रयास र प्रतिभाको खोजी अभियानमा सन्दिप अब्बल ठहरिएका हुन्।
नेपाली क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा सन्दिपको अस्ट्रेलियन उडानलाई नेपाली क्रिकेटको सुन्दर भबिष्यसँग तुलना गर्छन्। सुन्दा नै कति आनन्द लाग्छ, क्लार्कको टोलीमा सन्दिप भनेर।
टमाटाले नेपाली खेलाडीहरुमा प्रतिभा रहेको तर त्यसलाई निखार्ने कसीमा भने केही कमजोरी रहेको बताए।
क्लार्कको आँखामा पर्ने नेपाली खेलाडीलाई हामीले अन्तर्राष्ट्रिय क्षेत्रमा उभ्याउन सकेका छैनौं। संघको आन्तरिक मारमा खेलाडी परिरहेको भन्दै जगत भन्छन्, क्रिकेट विकासको लागि उत्कृष्ट संघ र निश्वार्थ पदाधिकारीहरुको आवश्यकता छ।
विश्वकप अभियानमा रहेको नेपाली क्रिकेट संघकै बिवादमा रुमल्लीरहनु दुर्भाग्यको बिषय भएको बताउँछन् जगत। सन्दिपहरूको सफलताको समाचार र फोटोहरुले सान्त्वना र हौसला दिने बताउँदै जगत भन्छन्, ‘राज्य गम्भीर नहुँदा क्रिकेट मासिन लागेको छ। सन्दिप भने आफूले पाएको मौकालाई खरो रुपमा मैदानमा उपयोग गर्न लागिपरेका छन्।’
क्लार्कले सन्दिप प्रतिभाशाली क्रिकेटर भएको र उसले प्राप्त मौकाको सदुपयोग गर्ने बिश्वास ब्यक्त गरेका छन्। सन्दीपको पहिलो खेलबाट आफू प्रभावित भएको क्लार्कले बताए।
क्लार्कले पत्रकार सम्मेलनमै सन्दिपको बलिङ निकै उत्कृष्ट रहेको र क्लबका लागि पनि महत्वपूर्ण रहने बताएका थिए। 
एनआरएन अस्ट्रेलियाका अध्यक्ष सुरेन्द्र सिग्देलले एउटा नेपाली खेलाडीले अस्ट्रेलियन प्रिमियर क्रिकेटमा स्थान पाउनु सारा नेपालीको लागि खुसीको कुरा भएको बताए।
सिग्देलले सन्दिपको अस्ट्रेलिया बसाइमा नेपाली समुदाय र एनआरएनले पनि आवश्यक सहयोग गर्ने बताए। ‘मुलुकको नाम उचोँ राख्ने युवा क्रिकेटरलाई सहयोग र सद्‌भाव हाम्रो दायित्व र कर्तब्य पनि हो ’,सिग्देलले सुनाए।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images