Thukka my race! Jovan mobile, food orderly
6:50 PMहिजो एकजना गाउँकै दाइले फेसबुकमा म्यासेज गर्नुभयो| “हेई शिवानी, फ्रेन्ड रिक्वेष्ट पठाएको छु, किन एसेप्ट नगरेको
?” लेख्नु भएको रहेछ| कसैको मित्रताको अनुरोध स्वीकार गर्ने नगर्ने मेरो
खुसीको कुरा हो| मलाइ ठिक लागे गर्छु नत्र गर्दिनँ| झन् हदै चित्त नबुझ्दा
उसलाई सधैंको लागि ब्लक गर्ने अधिकार मलाइ फेसबुकले दिएको छ| मान्छेहरु किन
आफुलाई यति महान सम्झिन्छन मैले बुझ्न सकेकी छैन| फेसबुकले निश्चित
संख्यामा मात्रै साथी राख्न पाउने प्रणाली बनाएको छ| त्यो संख्या मेरो
पहिला नै पुरा भईसकेको कारणले मैले नया अनुरोधलाई खासै वास्ता गरेकी छैन|
अरुले के कारण र उदेश्यले फेसबुक चलाउछन मलाइ थाहा भएन| तर मैले केहि
सिक्न जान्न र नया खबरहरु पढ्नको लागि चलाउछु| गाउँकै दाजु भएको कारणले
उहालाई अर्को एकजना साथि हटाएर भएपनि मैले साथी बनाएँ| तरपनि मनमा किन
त्यस्तो आदेशात्मक शैली अपनाए भनेर खुल्दुली र दुखेसो भइराख्यो| अनुरोध
स्वीकार्ने बित्तिकै फेरी म्यासेज आयो, “आहा! कति राम्री छौ है तिमी त|”
मैले केहि प्रतिकृया जनाइन| साथी बनाएकोमा सामान्य आभार व्यक्त गर्नपनि
कन्जुस्याई गरे| त्यसपछि लगातार मेरा पोष्ट र फोटाहरुमा गाउँले दाजुको कृपा
हुनथाल्यो| पाँच मिनेटमा लगभग मलाइ पचास लाइक र आठदश कमेन्ट दिएर धन्य
बनाए| मैले धेरै मिहेनत गरेर लेखेका लेख र स्टाटस उनले यति छिटो पढेर
प्रतिकृया दिए जस्तो मलाइ लाग्दैन| कति गहन र गम्भीर पोष्टमा पनि “कुरा सहि
हो”, “ल ल दाम्मी छ” “यु आर राइट” जस्ता पदौरे कमेन्ट देखेर मलाइ धेरै दुख
लाग्यो| मेरा तस्वीरहरूमा “आहा! कति राम्री ???? ”, “वाउ लुकिंग सेक्सी
???? ”, “स्स्सो हट J”जस्ता कमेन्ट देखेपछि मेरो रिसको पारो तात्यो|
फेरी दाजुले हत्तपत्त मलाई म्यासेज गरे “के छ रानी?”, यस्तो लाग्थ्यो मलाई
पचास लाइक र आठदश कमेन्ट दिएर फकाइसके| मलाई तिनको पागलपन देखेर एकछिन कुरा
गरौँजस्तो लाग्यो, मैले सोचें यिनले मलाइ चिन्छन कि चिन्दैनन्? कुरा गर्ने
क्रममा थाहा भयो, यिनले मलाइ चिन्दैनन्| गाउँको हो भन्ने थाह छ तर कसको
छोरी या बहिनी भन्ने थाह छैन| धेरैबर्ष गाउँ बाहिर बसेर बुढेसकालमा
बिदेशिएका यी दाइको बारेमा मलाइ भने धेरै कुरा थाह थियो| यिनकी छिमेकी
बहिनी मेरी साथी भएकी र म त्यहाँ सानैदेखि जाने भएकोले यिनलाई म राम्ररि नै
चिन्थे|
यसबीचमा यिनले दुइपटक मेरो मोबाइल नम्बर मागे भने तीनपटक म्यासेन्जरमा
कल गरे| मैले दुबैलाई इन्कार गरें| मैले अब मेरो काम छ पछी कुरा गरौंला
भन्दापनि नसुनिकन उनी आफ्नो काम र तलबको बढाईचढाई ब्याख्या गर्नेमा व्यस्त
रहे| अन्तिममा केहि उपाय नलागेपछि मैले भनें “म तपाईलाई अंकल भन्छु नि ल
J|” दाजु आत्तिदै भन्छन् “हैट! के भनेको त्यस्तो? बरु हामि लप गरौँ न, आइ
लप यु ”
तिनको पछिल्लो शब्दले मलाइ रन्थन्यायो| आखिर के सम्झिन्छन छोरा
मान्छेहरु आफुलाई? कसरि यस्तो सोच्न र भन्न सक्छन? एक छोरा र एक छोरीका बाउ
भएर आफ्नो छोरीजस्ती केटीलाई आफ्नै गाउँको भनेर जान्दाजान्दै कसरि यस्तो
कुरा भन्न सक्छन? के लाज, डर, घिन, इज्जत केहि हुन्न यिनको? म सरासर उनको
प्रोफाइलमा गएँ| कतै फेक अकाउन्ट त होइन भन्ने जिज्ञासाले| तर होइन उनको
आफ्नै अकाउन्ट थियो, उनले केहि घण्टा अगाडी छोरीको फोटो हालेका रहेछन|
“मेरी गुडिया आइ लप यु” लेखेर| मलाइ यो “आइ लप यु” शब्दसँग धेरै घिन
लाग्यो| मलाइ पनि मेरा आफन्तले “आइ लप यु” भन्नुहुन्छ, हिजोसम्म प्रेमको,
स्नेहको प्रतिक लागेको आइ लप यु एकाएक घृणित शब्द भयो| उनले छोरीलाई पनि
मैलाई जस्तो आइ लप यु भनेका होलान्, मलाइ यस्तै लाग्यो| मैले एकाएक तिनमा
राक्षस देखें, भीमकाय शरीर, विकृत अनुहार र फोहोरी सोच भएको राक्षस| तिनलाई
उचित शिक्षा दिने बिचार आयो|
म पुन म्यासेजमा फर्किसक्दा उनले “ बिहे नगरेपनि अनलाइन लप गरौँ, यसो
समय कटाउने मेलो ???? म बिदामा आउँदा तिमीलाई नया मोडेलको मोबाइल
ल्याइदिन्छु ” लेख्न भ्याएका रहेछन| मेरो रिसको पारो झन् तातियो| मैले उक्त
म्यासेज बक्सको स्क्रीनसट लिएँ र मेरो वालमा उनलाई ट्याग गरेर हालिदिएँ|
यी एक प्रतिनिधि पुरुष हुन् हाम्रो समाजका| यसो भन्दा सबै पुरुष यस्तै
हुन्छन् भन्ने हुँदैन| धेरै राम्रा पुरुषहरु पनि छन्, तर राम्राहरुलाई यी र
यस्ता कुपुरुषहरुले छाँयामा पारेका हुन्छन्| अझैपनि धेरै पुरुषहरु त्यस्ता
छन् जसको म्यासेज रिप्लाई नगर्दा “ओइ #लु, एकरातको कति लिन्छेस?” “किन भाउ
खान्छेस र#डी?” “बोल्दिनस भने किन अनुरोध स्वीकार गरिस?” भन्नेजस्ता
म्यासेज पठाउछन्| हाम्रो आफ्नै काम हुन्छ, आफ्नै व्यस्तता हुन्छ| सधैं
सबैलाई जवाफ फर्काएर बस्न सकिदैन| फेरी मलाइ यसो भने भनेर कसलाई सुनाउदै
हिड्ने? ब्लक या डिलिट कतिलाई गर्ने? कतिलाई ति दाजुलाई जस्तो शिक्षा
सिकाउने? अर्कोकुरा फेरी, यो फेसबुक नचलाई पनि नहुने कुरो|
यस्तो कार्यमा सबैभन्दा अगाडी घर छोडेर परदेशिएकाहरु छन् मेरो निजि
अनुभवमा| तिनीहरु कतार, दुबई, साउदीजस्ता खाडी मुलुकमा छन् कि त फेरी
मलेशियामा छन्| तर तिनीहरु कै वालमा हेर्ने हो भने, देश बिग्रियो, समाज
सकियो, संस्कारको सत्यानाश भयो भन्नेजस्ता राग अलापेर बसेका हुन्छन्|
समाजको एउटा हिस्सा मपनि हुँ, मैले गरेको हर्कतले अरुलाई कति असर परेको छ
भनेर कहिल्यै सोच्दैनन्| आफ्नो निर्णय र आदेश लाद्न पल्केकाहरु नै देशको
मुख्य दुश्मन हुन्| आफ्नो कुरा अरुले मान्दा र आफुले हेप्न पाउँदा आफुलाई
मर्द सम्झेर मख्ख पर्छन| छोरीमान्छेलाई छाडा बोलेर, हेपेर, अपमान गरेर
कोहिपनि मर्द हुँदैन| मर्दले त नारीको इज्जत र रक्षा गर्छ| अशक्त र
बच्चालाई प्रेम बाड्छ, पिडितको उद्दार गर्छ| धर्मको पालना गर्छ| करीब दश
मिनेट पछि तीनले रोइ कराई गरेपछि त्यो पोष्ट हटाएँ मैले| सोचें उनकी छोरीले
त्यो कुरा हेरी भने के सोच्छे होला? छोरीको आँखामा आफ्नो बाबु जस्तो भएपनि
एउटा आदर्श पुरुष हुन्छ|
मेरी एउटी साथी छे, अन्जली| हामी सानैदेखि गाउँमा सँगै पढेर काठमाडौं
पनि सँगै आएका हौँ| हामी दुबैका दाजुहरु यहिँ बस्ने भएकोले यता आएपछि बसाइ
अलगअलग भयो| पढाइको रुचि अनुसार फरकफरक कलेज रोजियो| पछिल्लो समय उसले
स्नातक सकेर निजि बैंकमा जागिर खान्थी| म डिग्रीको पढाई सँगै एउटा निजि
कम्पनीमा काम गर्थे| आज बिहान रुँदैरुँदै मलाइ “इमो”मा फोन गरि र छिट्टै
भेट्न बोलाइ| म कामको शिलशिलामा पटनामा भएकोले तत्काल आउन नसक्ने बताएँ|
साथै रुनाको कारणबारे पनि जिज्ञासा राखें| धेरैबेरको रोदन र मेरो लगातारको
प्रश्नले उसले समस्याको पोको खोली| उसकै बैंकमा कामगर्ने सहकर्मीसँग उसको
प्रेमसम्बन्ध रहेछ| मनदेखि शुरु भएको प्रेम तनवदन हुँदै जातमा गएर अड्किएछ|
अन्जली कथित दलित हो, बिश्वकर्मा| उसको प्रेमी उपाध्याय बाहुन रहेछ|
अहिलेको समयमा कम्तिमा हाम्रो पुस्ताले जातभातको कुरा गर्नु एकदमै
दुखलाग्दो कुरा हो| उनीहरुलाई एकअर्काको जातको बारेमा थाह नभएको पनि होइन|
दुबैलाई थाहा भएर पनि जातलाई गौण मानेर प्रेम गरेछन, अन्त्यमा बिहे गर्ने
कुरा आएपछि परिवारको कारण देखाएर प्रेमी टाढियो| अन्जलीदेखि टाढा हुनलाई
जागिरै सरुवा गरेर लगेछ|
आजको पढेलेखेको पुस्ता यस्तो छ, जो आफ्नै घरमा आफ्ना बाआमालाई मनाउन
सक्दैन| भोलिको बाटोमा आउनसक्ने अवरोध र व्यवधानको लागि पुर्व तयारी गर्दैन
भने उसले पढेको के काम भयो| उसले हाँसिल गरेको ज्ञान र शिक्षाकै बेईज्जत
भएन र? अरुबेला देश बदल्ने ठुलाठुला कुरा गर्नेहरुले पहिला आफुलाई र
आफ्नालाई बदलेर देखाउन|
अन्जलीले आफु सानो जातको भएर भोग्नुपरेको यो पहिलो घटना भने होइन|
सानैदेखि यस्तो व्यवहार हुन्थ्यो, हामीले सम्झाउथ्यों| कति बुझ्थी कति
बुझ्दिनथिइ उसैले जानोस्| हामी साथीहरु एकअर्काको घरमा आउजाउ गर्थ्यौं| झन्
केहि बिशेष पुजाआजा, बिहे बटुलो हुँदा त नगई नहुने| छोरीले कर गरेर
बोलाउने बाउआमाले घरमा पस्न नदिने धेरै पटक हुन्थ्यो| यसरि अपमानित
हुँदापनि उसले कहिल्यै साथ छोड्दिन थिइ, शायद आफुलाई त्यहि अनुरुप तयार
पारेकी थिइ|
मलाइ अचम्म लाग्छ, जब कोहि दलितको घरमा केहि पवित्र कार्य हुन्छ| कथित
ठुला जातकाले फलफुल प्रसाद बाहेक अरु खाँदैनन| फलफुल छोइदैन अरु छोइन्छ रे!
दलितको घरमा पालेका सुँगुर, खसी बोका, कुखुरा खान हुन्छ रे, तर उसले छोएको
खान हुँदैन रे| उनीहरुले खसी बोका के रिमोटले चल्ने बनाएर पालेका हुन्छन्
र? दलितको खेतमा फलेको अन्न खान हुने, उसको धाराको पानि पिउन हुने, छोएको
खान नहुने रे! कति हास्यास्पद छ है चलन? मेरो गाउँका प्राय दलितहरु रक्सि
पार्छन र बजारका भट्टीवालालाई बेच्छन| त्यहि रक्सीले मातेर सुतेका उपल्लो
जातिका महामानवहरु भोलिपल्ट बिहान उठेर एक आम्खोरा पानीले जिउ पखाल्छन्,
जनै मुसार्छन र चोखिन्छन्| उपल्लो जातमा जन्मिएकाहरू जति मैलिए पनि नुहाएर
चोखिन्छ्न| सुनपानी र जप गरेर दुरुस्त हुन्छन्| तर जिन्दगीभर सत्कर्म गर्ने
दलितहरु किन कहिल्यै पवित्र हुनसक्दैनन? यो प्रश्नको जवाफ धर्म संस्कार र
समाजको ठेक्का लिएका आफुलाई महान सम्झिने पात्रहरुले दिनुपर्दछ|
म बुझ्दछु शायद अन्जली यतिबेला आत्महत्या गर्नेबारे सोच्दैछे| नभएपनि
उसलाई यो समाज र यसका देखावटी रिति रिवाजप्रति रुष्ट छे| जसलाई उसले आफ्नो
सर्वस्व सुम्पिएकी थिइ उसैले आज नगरेको गल्तिको सजायँ दियो| दलितको कोख
अन्जलीले रोजेर पाएकी होइन| न कसैले उपाध्यायको कोख रोजेर या आफ्नो
मिहेनतले पाएको हो| जुन कार्यमा आफ्नो केहि योगदान छैन त्यसमा घमण्ड किन
गर्ने? अन्जलीलाई हौसला र ढाडस दिनेकाम मेरो लागि गाह्रो काम हो| उसलाई
एकदिन पक्कै छुवाछुत र भेदभावको अन्त्य हुन्छ भनेर धेरैपटक हामीले ढाडस
दियौं| समय झन्डै दश बर्ष बित्यो तर आज हामी उही स्थानमा, उस्तै समस्यामा
छौं| अब फेरी त्यहि कुराले उसलाई दिलासा दिएँ भने उसले पत्याउने छैन| उसको
नजरमा मेरा कुरा फोस्रा हुनेछन| दशबर्ष अघि एउटी साथीले आफ्नी दिदीको
बिहेमा बोलाएकी थिइ हामि सबैलाई| मिल्ने साथी भएकोले उसकी दिदी हामीलाई पनि
प्यारो गर्थिन्| अन्जलीले त आउदिन भन्दापनि दिदी आफैले जसरि पनि आउनु पर्छ
भनेकी थिइन्| बेहुली निकाल्नु केहि अघि पुगेका हामीलाई बेहुली हुँदा दिदी
कस्ती भईन भनेर हेर्ने रहर थियो, जो सबै केटीलाई हुन्छ| बेहुलीलाइ सिगार्ने
मौका पनि पाइन्छ भनेर हामि चारपाँच जनाको हुल हुरुरु बेहुली राखेको कोठामा
पस्यौं| बेहुली हेर्दै मात्रै थियौं बेहुलीकी हजुरआमाले अन्जलीलाइ भन्नु
नभन्नु भनिन्| आफ्नो साथीको कोठामा पस्नु उनको अपराध थियो| भन्नलाई त
हजुरआमाले “बाहुनको घरमा के भनेर पस्छेस ए कमिनी” भनिन्| तर हामि बाहुनको
घरमा पसेका क्षेत्रिनी, लिम्बुनी, कमिनी र नेवारनीहरु पसेका थिएनौं| हामि त
साथीको घरमा पसेका साथीहरु थियौं| हजुरआमाले चिन्न सक्नुभएन, निम्तो गर्ने
साथीले रोक्न खोजिन तर उ निरिह भई| त्यसबेला बिहेको कार्यक्रम बहिष्कार
गरेर हिडेका हामीहरु असाध्यै दुखी भयौं| अन्जलीले बरु सामान्य बन्ने प्रयास
गरि हुनसक्छ यो उसको दैनिकी थियो| तर हामि उसका साथीहरुलाई ज्यादै नरमाइलो
लाग्यो| बिहेमा आएका धेरै मान्छेहरुका अगाडी त्यसरी गरेको बेइज्जती हामीले
त भुल्न सकेका छैनौँ भने उसले झन् कसरि सक्थी होला र? अहिले उसले प्रेम
गरेको मान्छे पनि कथित उपल्लो जातीको हो| शायद उसले प्रेममा प्रेम मात्रै
देखि होला, जातभात देखिन| त्यस्तो बेला कसैले पनि जातभात, उमेर, क्षेत्र,
वर्ण र वर्ग हेर्दैन| हेरियो भने त्यो प्रेम हुनैसक्दैन, सम्झौता हुन्छ|
यतिबेला म अन्जलीलाइ के भनेर सम्झाउने भनेर सोच्दै छु| भोलि म काठमाडौं
पुग्छु, उसकोमा जान्छु| मलाइ भेटेपछि उ झन् धेरै रुनेछे| यहाँ उसको
आत्मसम्मान र हौसला मात्रै होइन मनमुटु सबै लुटिएको छ| यो देशमा केटि भएर
जन्मिनु एउटा अभिसाप हो| झन् ग्रामिण भेग, पुरातन र रुढिबादी सोच भएको
समाजमा जन्मिनु अर्को अपराध हो| झन् दलितको कोखमा जन्मिनु अर्को पाप हो| यी
सबैको सजायँ भोगिराखेकी छे अन्जली| अब मैले बिद्रोह गर्नुको बिकल्प
देख्दिनँ| म नभए कोहि न कोहि त बोल्नैपर्छ| आज नभए भोलि त बोल्नैपर्छ|
अन्जली, अब हामीले चुनौती दिनुछ यो समाजलाई र यसका टाउकेहरुलाई| तिमीहरुले
बनाएको नियम, तिमीहरुले लादेको संस्कार हामीलाई स्वीकार्य छैन| तिमीहरुले
बिना पौरख पाएको तिमीहरुको जात तिम्रा बाउ बराजेले कुनै युध्द जितेर पाएका
होइनन्| जबर्जस्ति लादिएको यो जात हामि अब त्यागीदिन्छौं| मर्ने बेलामा
घिटघिट हुँदा रगत दिनेको जात कसैले सोध्दैन| दवाई कुन जातको मान्छेले दियो
कसैले खोज्दैन| किनकि त्यो बेला तिमीहरुलाई बाँच्नु मुख्य कुरा हुन्छ|
अन्जली, यी सबै ढोंगीहरु हुन्| तिम्रा डाक्टर मामाले दलित भएपनि दिएको
स्लाइन र सिटामोल यिनलाई चल्छ तर तिमी घरमा पसेको सहदैनन| आफ्नो अभिष्ट
पुरा गर्न, बैंश पोख्ने ठाउँ नपाउदा कसैले कुनै युवतीलाई सोध्दैन कुन जातकी
भनेर| अझ जबर्जस्ति गर्न तम्सिन्छन ब्वाँसाको जस्तो रुप लिएर| गुहुमा किरा
गाडिए जसरि गाडिन्छन् हाम्रो शरीरमा| तर त्यसैलाई आफ्नी श्रीमती बनाउन
यिनलाई संस्कारले रोक्छ रे| यिनलाई दलित पछाडी हिडेको मनपर्छ, सँगै हिड्नु
हुँदैन| हुनत अन्जली म पनि तिमीलाई पींडा दिने पीडक जातको हुँ| मैले पींडा
नदिए पनि मेरा सजातियहरुले तिमीलाई सदियौं देखि सहिनसक्नु पींडा दिए| तर अब
मलाइ मेरो जातमोह छैन| हो, मलाइ घिन लाग्छ मेरो उपल्ल्लो भनिएको जातसंग,
मैले बिना मिहेनत पाएको यो जात यहि समाजलाई फिर्ता दिन्छु| थुक्क मेरो जात!
जोवन चल्ने, भोजन नचल्ने|
0 comments