Remote to choose the doctor 31 years, the tragic end

4:01 AM

देशले सोमवार एक होनाहार युवा डाक्टर गुमाउनु पर्यो । त्यो पनि दुर्गम रोज्ने । जसले एमबिबिएसको इन्टर्नसीपका लागि नै दुर्गम जिल्ला रोजेका थिए ।

मोरङ जिल्लामा जन्मे हुर्केका डा केशव भट्टराइले रुकुमको चौरजहारी हस्पिटलबाट इन्टर्नसीप गरे ।
त्यसपछि उनले निरन्तर दुर्गममै बसेर सेवा दिइरहेका थिए । दुर्गम रोज्नुको कारण बारे उनले स्वास्थ्य खबरलाई केही दिनअघि मात्रै इमेल लेखेका थिए, ‘म पूर्वको मोरङमा जन्मेंहुर्कें । मैले सुदूर र मध्यपश्मिको जीवन निकै पीडादायी छ भन्ने सुनेपछि यहाँ पुगेको हुँ ।’


उनले दुर्गम रोज्नुको अर्काे कारण परिवारको प्रेरणा पनि थियो । उनको हजुरबुवाले २५ वर्ष पहिले नै मोरङको बयरबन हेल्थ पोष्टका लागि जग्गा दान गरेका थिए ।

अघिल्लो वर्ष मात्रै उनको बुवा चन्द्र बहादुर भट्टराईले पक्की भवन बनाएर हस्तान्तरण गरे । स्वास्थ्य क्षेत्रमा परिवारले दिइरहेको योगदानले उनलाई यही क्षेत्रमा लाग्ने प्रेरणा जगायो र डाक्टर बने । डाक्टर बनेपछि डाक्टर सहजै नपुग्ने ठाउँमा पुग्ने लक्ष्य लिए ।

उनले एमबिबिएस मात्रै गरेका हुन् । तर, उनले दुर्गमका धेरै ठाउँमा सिजरियन सेक्सन (अप्रेशन)बाट प्रसूति गर्ने गरेका थिए ।

जसका लागि उनले एडभान्स लेभलको स्किल बर्थ एटेन्डेन्स (एसबीए) तालिम लिएका थिए ।

रुकुममा काम गर्दा १०० भन्दा बढी महिलाको यो प्रविधिबाट सुरक्षित प्रसूति गराएका थिए । केही समयअघि मात्रै हुम्लामै पहिलोपल्ट उनले सिजरियन सेक्सनबाट प्रसूति गराउन सुरु गरेका थिए ।

उनी मध्य र सुदूरपश्चिमका विभिन्न जिल्लामा पुगेर स्वास्थ्य सेवा र शिक्षा दिँदै आएका थिए । दैलेख, सुर्खेत, बर्दिया, जुम्ला, डोटी, रुकुम, अछाम, डडेलधुरासम्म पुगिसकेका थिए  ।

भूकम्पको समयमा पनि उनी घाइतेलाई सेवा दिन धादिङ पुगेका थिए । धादिङको पनि दुर्गम ठाउँ किन्ताङफेदि पुगेर उनको समूहले २ दिन सेवा दिएको थियो ।

कतिपय स्वास्थ्यचौकीमा आफ्नै रकमले आवश्यक सामान किनिदिन्थे । तीमध्ये रुकुमका रावल गाउँ र बस्नेत जिउलाका स्वास्थ्यचौकीलाई स्ट्रेचर किनिदिएका थिए ।

उनको कामलाई  विभिन्न अस्पताल र जिल्ला स्वास्थ्य कार्यालयले लिखित रुपमै प्रशंसा गरेका छन् ।


चौर जहारी अस्पताल रुकुमले लेखेको छ, ‘२०६९ असोजदेखि २०७० फागुन ३० सम्म रुकुम, जाजरकोट र सल्यानका बिरामीलाई चिकित्सकीय सेवा र आपतकालिन शल्यक्रिया समेत जीवन जोगाउनुभएको छ ।’

यसैगरी हुम्ला स्वास्थ्य कार्यालयले भौगोलिक विकटता र स्रोतसाधनको अभावमा पनि उनले सिजरियन सेक्सनबाट प्रसूति सेवा दिएकोमा आभार प्रकट गरेको छ ।

उनी हाल कार्यरत जिल्ला हुम्लाकी जिल्ला स्वास्थ्य प्रमुख डा स्मृति महत उनको निधनबाट हुम्लाले ठूलो क्षति बेहोरेको बताउँछिन् । उनी भन्छिन्, ‘एउटा दक्ष जनशक्ति मात्रै नभएर मेहनती, इमान्दार र मिजासिलो डाक्टर गुमाएका छौं ।’


उनी आफ्नो चिकित्सकीय सेवा बाहेक अन्य कार्यमा पनि सरिक हुन्थे । अस्पताल सरसफाईको नेतृत्व गर्नेदेखि लिएर बिरामीलाई आफैं रगत दान पनि गर्थे ।

विशेष गरी जनचेतनाको अभावमा रगत पाउन मुश्किल पर्ने ती जिल्लामा अप्रेशन गर्नुअघि उनी आफैंले रक्तदान गरेका केही उदाहरणहरु छन् । उनले यसक्रममा ८ पल्टसम्म रक्तदान गरिसकेका थिए ।

यसरी देशले निरन्तर दुर्गम क्षेत्रका बिरामीको सेवामा समर्पित एक युवा डाक्टर गुमाएको छ । डा भट्टराईको हृदयाघातका कारण निधन भएको हो । शोकसन्तप्त परिवारमा हार्दिक समवेदना सहित हार्दिक श्रद्धाञ्जली डा केशव ।

You Might Also Like

0 comments

Popular Posts

Like us on Facebook

Flickr Images